बिमस्टेकमा मोदीको बठ्याइँले हैरान हुँदै ओली

 अनलाइनखबर पाटी     १९ भाद्र २०७५, मंगलवार

शोभित उप्रेती, काठमाण्डौ

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिमस्टेक) राष्ट्रका सेनाहरुको संयुक्त सैनिक अभ्यास हुन लागेको बताउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा हुने संयुक्त सैनिक अभ्यासका लागि बिमस्टक राष्ट्रहरुलाई स्वागत गरे।

उद्घाटन सत्रमै भारतीय प्रधानमन्त्री मोदीले भारतमा हुन लागेको बिमस्टेक राष्ट्रका सैनिकहरुको संयुक्त सैनिक अभ्यासमा सहभागिताका लागि स्वागत गरेपछि सन्देश गयो, संयुक्त सैनिक अभ्यासको आयोजना ‘बिमस्टेक’ ले ने गरेको हो।

२५–३१ भदौमा भारतको पुनामा सो संयुक्त अभ्यास हुँदैछ, जहाँ बिमस्टेक मुलुकहरु नेपाल, भारत, बंगलादेश, भूटान, थाइल्याण्ड, बर्मा र श्रीलङ्काका राष्ट्रिय सेनाका ३०–३० जनाका दरले सहभागी हुँदैछन्।

‘बिमस्टेकका सदस्य राष्ट्रका सैनिकहरुको संयुक्त सैनिक अभ्यास’ भनिएपनि र बिमस्टेक शिखर सम्मेलनमा यसको उच्चारण भारतीय प्रधानमन्त्री मोदीले गरेपनि यसको कुनै सम्बन्ध ‘बिमस्टेक’ नै छैन।

खासमा मोदी बाहेक त्यसको संक्षिप्त चर्चा गरेपनि सम्मेलन अवधिभर कसैले गरेन। न त, संयुक्त सैनिक अभ्यास सम्बन्धी एजेण्डा यस पटकको शिखर सम्मेलनमा थियो। यसबारेमा सम्मेलन हलमा न छलफल भयो, न त कुनै निर्णय नै।

बिमस्टेक सम्मेलनको समीक्षाका लागि सोमबार (१८ भदौ) मा डाकिएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि सो सम्मेलन बिमस्टेकको नभएको बताएका थिए। ओलीले सो अभ्यासको आयोजना भारतले गरेको बताउँदै त्यसलाई ‘बिमस्टेक कै भनेर बुझ्नु गलत भएको’ बताएका थिए।

हुन पनि, सार्क शिखर सम्मेलनमा त सैनिक अभ्यासबारे कुनै छलफल भएन, त्यसअघि भएका विदेशमन्त्री स्तरीय र सचिव स्तरीय बैठकमा समेत त्यसबारे कुनै छलफल भएको थिएन। कुनैपनि छलफल र बैठकमा यो विषय एजेण्डाको रुपमा थिएन।

भदौ अन्तिम साता गर्ने भनिएको सो संयुक्त सैनिक अभ्यास प्रतिआतङ्कवाद र विपद् व्यवस्थापन विषयमा केन्द्रित मोदीले बताएका थिए। आपसी सम्बन्ध विस्तारका लागि गरिने भएकाले यसमा सातै बिमस्टेक राष्ट्रका सेनाले सहमति जनाएका थिए।

तर, बिमस्टेकका ७ राष्ट्रका सेना सहभागी हुने र मोदीले बिमस्टेक सम्मेलनको उद्घाटनकै क्रममा आफ्नो देशमा हुने ‘बिमस्टेक राष्ट्रका सेनाको संयुक्त अभ्यासमा भारतको तर्फबाट स्वागत छ’ भनेपछि कतै यो बिमस्टेककै संयुक्त सैनिक अभ्यास त होइन भन्ने भ्रम सिर्जना हुन पुग्यो।

खासमा बिकास र व्यापारका विभिन्न आयामसँग सम्बन्धित बिषयलाई केन्द्रमा राखेर क्षेत्रीय संगठनको रुपमा बिमस्टेक गठन गरिएको हो। तर, मोदीले सम्बोधनका क्रममा सैनिक अभ्यासको चर्चा गरिँदिँदा कतै यसलाई सैनिक गठबन्धनको रुप धारण गर्दै त छैन? भन्ने आशंका जन्मन पुग्यो।

मोदीको त्यस्तो प्रस्तुतिले प्रधानमन्त्री केपी शर्मा ओली समेत अप्ठेरोमा परे। किनभने, पूर्व उपप्रधान तथा रक्षामन्त्री समेत रहेका एमाले नेता भीम रावलले नै यस विषयमा सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रश्न उठाए। त्यसकारण सम्मेलनको समीक्षा गर्न बोलाइएको बैठकमा समेत ओलीले स्पष्टिकरण दिनुप¥यो।

तर, यो ‘ओपन सेक्रेट’ तथ्य हो कि, भारतले बिमस्टेकलाई सार्कको बिकल्पका रुपमा अघि सार्न खोजेको छ, किनभने बिमस्टेकमा भारतको ‘चिरशत्रु’ पाकिस्तान छैन। यही कारण बिमस्टेक उद्घाटन सत्रमा प्रधानमन्त्री ओलीले बिमस्टेकलाई सार्कको बिकल्पका रुपमा होइन, परिपुरकको रुपमा हेर्नुपर्ने बताएका थिए।

खासमा यसो भनेर उनले मोदीलाई जवाफ दिएका थिए। नत्र, बर्मा र थाइल्याण्ड र बर्माजस्ता सार्कको सदस्य नभएका मुलुकका राष्ट्राध्यक्ष र सरकार प्रमुख उपस्थित शिखर सम्मेलनमा ओलीले सार्कको नाम लिनु जरुरी नै थिएन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *