नेपालसँगको वार्ता रोकेर भारतीय मन्त्री काठमाडौंमा
अनलाइनखबर पाटी १२ आश्विन २०७५, शुक्रबारपेट्रोलियम पाइपलाइनबारे छलफल गर्न भारतीय पेट्रोलियम तथा प्राकृतिक ग्याससमन्धी मन्त्री धमेन्द्र प्रधान शुक्रबार काठमाडौं आइपुगेका छन्।
पेट्रोलियम पाइपलाइनबारे नेपाल र भारतका उच्च अधिकारीबीच बुधबारका लागि तय भएको वार्र्ता स्थगित भएको तेस्रो दिन उनी काठमाडौं आइपुगेका हुन्।
नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार मन्त्री प्रधानसहित भारतीय टोली शुक्रबार ९ बजे नेपाल आइपुगेको हो। भारतीय मन्त्रीले शुक्रबारै ग्यास, पेट्रोलियमसम्बन्धी विषयमा नेपाली पक्षसँग भेटवार्ता गर्नेछन्। उनी अमलेखन्ज जाने कार्यक्रम पनि छ।
अमलेखगन्जदेखि चितवनसम्म पेट्रोलियम पाइपलाइन निर्माणको मोडालिटीबारे उनले नेपाली पक्षसँग छलफल गर्नेछन्। ग्यास र पेट्रोलियम आपूर्तिको विषय पनि उनको छलफल एजेन्डामा राखिएको छ।
बुधबारका लागि तय भएको पेट्रोलियम पाइपलाइनसम्बन्धी नेपाल–भारत उच्च स्तरीय वार्ता भारतले अन्तिम समयमा अकस्मात रोकेको थियो। भारतीय टोली काठमाडौं आइसकेपछि मन्त्रिपरिषदबाट स्वीकृत नलिएको भन्दै भारतीय पक्ष वार्तामा बस्न अस्वीकार गरेको थियो।
Leave a Reply