निर्मलाको न्यायको खोजीमा महिला अधिकारकर्मी प्रदेश राजधानी प्रस्थान
अनलाइनखबर पाटी १७ आश्विन २०७५, बुधबारहेन्द्रनगरमा आन्दोलनरत एक महिला अधिकारकर्मीको टोली निर्मलाको न्यायको खोजीको क्रममा सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीतर्फ प्रस्थान गरेको छ।
बुधवार महेन्द्रनगरबाट महिला अधिकारकर्मीको टोली अस्थायी राजधानी धनगढीका लागि प्रस्थान गरेको हो। उनीहरु सुदुर पश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा निर्मलाको न्यायको लागि धर्ना बस्ने भएका छन्।
घटना भएको दुई महिना भन्दा बढी समय बितिसक्दापनि हत्यारा सार्वजनिक नगरिएकोले दबाब दिनका लागि धनगढी गएको अधिकारकर्मी हेलन श्रेष्ठले बताईन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिइन्। धर्नामार्फत् मुख्यमन्त्रीको ध्यानाकर्षण गरिने उनले बताइन्।
दोषीको पहिचान र हत्या–बलात्कारमा दोषीलाई कानुनी दायरामा नल्याइन्जेलसम्म आफूहरु संर्घषमा रहिरहने उद्घोष उनले गरिन्।
उच्च स्तरीय छानविन समितिले बुझाएको प्रतिवेदनका गर्नुपर्ने र निर्मलाको हत्यारा सार्वजनिक गर्नुपर्ने माग गर्दै महेन्द्रनगरका महिला अधिकारकर्मीहरुले निरन्तर दबावमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्।
आफ्नो उद्देश्य केन्द्रित भएर उनीहरुले काठमाडौँमा समेत दबाबमूलक कार्यक्रम यसअघि नै सम्पन्न गरिसकेका छन्। गत शनिवारदेखि महेन्द्रनगरको मदन चोकमा अनिश्चितकालिन धर्नाका साथै प्रमुख जिल्ला अधिकारी मार्फत् प्रधानमन्त्रीलाई ज्ञापनपत्र पनि बुझाइसकेका छन्।
गत १० साउनमा साथीको घरमा ‘होमवर्क’ गर्न जान्छु भनेर गएकी भीमदत्त नगरपालिका-२ की १३ बर्षीया निर्मला पन्तको शब अर्को दिन बलात्कार पछि हत्या गरिएको अवस्थामा उखुवारीमा भेटिएको थियो।
घटना भएको दुई महिना भन्दा बढी समय बितिसकेपनि उनको बलात्कार र हत्या कस्ले ग¥यो भन्ने पत्ता लाग्न सकेको छैन।
Leave a Reply