१ सय ३० देश, विश्वका पानीजहाज किन पुग्दैछन् शाङहाइ?

 अनलाइनखबर पाटी     १३ कार्तिक २०७५, मंगलवार

इटलीबाट हालै शाङ्हाइमा उत्रिएको ए.डब्लु. १८९ हेलिकोप्टर मात्रै होइन, एक्स्पोमा १ लाख ५० हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनेछन्। … ‘नेपालले पर्यटन, हस्तकलात्मक उत्पादन, अर्गानिक उत्पादनमार्फत् चिनियाँ व्यवसायमा निर्यात गर्नसक्नेछ।’

केही समयअघि संयुक्त राष्ट्रसंघको महासभामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका फर्स्टको नारा उरालिरहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङले आफ्नो खुलापनमा सहभागी हुन विश्वलाई स्वागत गरिरहेका थिए। यसबाट चीन पनि खुलापनको दिशामा अब्बल देखिन्छ। पश्चिमा मुलुकहरू अझ अमेरिकी गठबन्धन अलगाववाद र एकतर्फीवादबाट गुज्रिरहेका बेला चीनले खुलापनको चालीसौं वर्षगाँठ मनाइरहेको छ।

यसकै एउटा सिलसिलेवार प्रस्तुतीको रूपमा बेल्ट एण्ड रोड इनिसियटिभलाई लिइएको छ, जुन निकै लामो समयसम्म चल्ने एउटा अभियान हो। जसले पश्चिमबाट पूर्वतर्फ जाने लगानीको बहावलाई उल्टै पश्चिमतर्फ फर्काइरहेको छ। विश्वको समावेशी विकासको नारा दिइरहेको चीनले १३८ देशमा संचालन गरेको ४३ सय परियोजनाले सम्बन्धित देशको आर्थिक स्तरोन्नतिमा टेवा दिइरहेको एक तथ्यांकले देखाएको छ। यो त विश्वमा खुला अर्थव्यवस्था निर्माणको सकारात्मक तरंग पनि हो।

अमेरिकाले गरिरहेको ‘सर्वसत्तावादको प्रयोग’ माथि चिसोपानी खन्याउने क्रममा चीनले निरन्तर खुलापनको वकालत गरिरहेको छ। जुन अभियानले चीनप्रतिको समर्थन निरन्तर उत्थान भैरहेको छ। यी दुई प्रमुख आर्थिक समूहबीच भन्सार करलाई लिएर रस्साकस्सी चलिरहेका बेला चीनले शाङ्हाइमा प्रथम आयात एक्स्पो गरेर अमेरिकामाथि एक हिसाबले थप तनाव दिन खोज्दैछ।

नोभेम्बर ५–१० मा हुने आयात एक्स्पोका लागि यतिखेर संसारका विभिन्न देशबाट छुटेका पानीजहाजहरू शाङहाइमा पुगेका छन्। यो एक्स्पो अन्तर्राष्ट्रिय व्यापार विकासमा ऐतिहासिक बन्ने विभिन्न कोणबाट देख्न सकिन्छ। चिनियाँ अन्तर्राष्ट्रिय आयात एक्स्पो विश्वमा पहिलो आयात सम्बन्धी प्रदर्शनी हो।

सन् १९७८ मा खुलापनका अगुवा तङ स्याउफिङले अघि सारेको सुधार तथा खुलापनको नीतिलाई आत्मसात् गर्दै गत वर्षको मेमा चिनियाँ राष्ट्रपति सी चिनफिङले आयात एक्स्पोको अवधारणा अघि सारेका थिए।

अमेरिकासँग व्यापारिक मनमुटाव भैरहेका बेला चीनले गर्न लागेको आयात एक्स्पो बाँकी मुलुकहरूलाई गोलबद्ध गर्ने एउटा गतिलो प्रयास पनि हो। अहिलेसम्म कुनै पनि मुलुकले यति वृहत् पैमानामा आयात मेला गर्ने उदारता देखाएका छैनन्। अधिकांशको ध्यान आफ्ना उत्पादन बेच्नमै केन्द्रित रहेका बेला चीनले व्यापारी घरमै बोलाएर उसकै सामान किनिदिने उदारता देखाइरहेको छ।

हालसालै चीनका उपप्रधानमन्त्री हू छुनह्वाले शाङहाइमा गएर मेलापूर्वको तयारी अभ्यास हेरेपछि सारा शक्ति लगाएर आयात मेला सफल पार्न निर्देशन दिए। चीनको उपल्लो तहदेखि नै यस मेलाप्रति जागरूकता देखाएको देख्दा चीनको सुधार तथा खुलापनको अठोट विश्वको बहुपक्षीयतावादको पर्याय बन्न लागेको पनि ठहराउन सकिन्छ। सुधार तथा खुलापनको नीतिबाट चीनको प्रभाव थप उल्लेखनीय हुनेछ।

उद्योग–व्यवसाय र वाणिज्य प्रदर्शनीबाट १ सय ३० भन्दा बढी मुलुक र क्षेत्रका २ हजार ८ सयभन्दा बढी व्यवसायहरू एकत्रित हुनेछन्। सहभागि हुने मुलुकहरू चीनको आयात तथा निर्यातमध्ये शीर्षस्थानमा रहेका मुलुकदेखि नेपाल जस्ता अल्पविकसित मुलुक पनि छन्। आयात एक्स्पोले चीनको खुलापन झल्काउँछ र विकासोन्मुख मुलुकहरूका उत्पादन आयात गरेर उनीहरूको व्यापार घाटा कम गर्नका लागि चीनले प्रतिवद्धता पनि देखाएको छ।

नेपाल–चीन कार्यकारी परिषदका अध्यक्ष अनुपरञ्जन भट्टराईका विचारमा यो मेला नेपालका लागि पनि एउटा महत्वपूर्ण अवसर हो। उनी भन्छन्, ‘नेपालले पर्यटन, हस्तकलात्मक उत्पादन, अर्गानिक उत्पादनमार्फत् चिनियाँ व्यवसायमा निर्यात गर्नसक्नेछ।’

चीन नेपालका लागि पनि सबैभन्दा ठूलो बजार र व्यापारिक मञ्च भएकाले विश्वको दोश्रो ठूलो अर्थतन्त्र मुलुकबाट फाइदा लिनुपर्ने उनी बताउँछन्।

विकसित मुलुकहरूले उच्चप्रविधि चिनियाँ बजारमा घुसाउन सक्नेछन्। उनीहरूको अपेक्षा छ कि चीन सरकारले चिनियाँ कम्पनीहरूलाई उनीहरूका उत्पादन किन्नका लागि उत्प्रेरित गरोस्। यसबारे सारा चिनियाँ व्यापारीहरू सुसूचित छन् र थुप्रै व्यवसायीहरू शाङ्हाई आयात एक्स्पोमा भेला हुनेछन्।

चालीस वर्षदेखि थालिएको सुधार तथा खुल्लापन चीनका लागि महत्वपूर्ण अवसर बन्यो। चीन दोश्रो ठूलो अर्थतन्त्रको मञ्चमा पुगेको वास्तविक धरातल पनि यही नीति थियो। चीनले अर्थतन्त्र, व्यापार, वैज्ञानिक प्रविधि, उद्योग आदि क्षेत्रमा आधुनिकीकरणलाई व्यवहारिक रूप दिएको छ। ४ दशकमा चीन संसारको सबैभन्दा महत्वपूर्ण आर्थिक समूह बन्यो।

विश्वको व्यापारिक प्रणालीमा जोखिम बढ्दै गएको छ। अर्थतन्त्रको स्थिरतामा नकारात्मक चिन्हहरू बढी छन्। एकपक्षीयतावाद र व्यापार संरक्षणवादले जरा गाड्दै गएको छ। विश्व अर्थतन्त्रको यो असहज प्रवृत्तिप्रति चीनले स्वतन्त्र व्यापार प्रणाली र बहुपक्षीय संयन्त्र संरक्षणको आशा जगाएको छ। यसबाट अझ खुल्ला हुँदै विश्वतर्फ लम्किरहेको चीनले विश्वका लागि महत्वपूर्ण लगानी स्रोत देशको पहिचान बनाउँदै लगेको छ। विशेष गरी बिजुली र ऊर्जास्रोत आदि क्षेत्रमा चीनले गरेको लगानीको त झन् मुक्त कण्ठले प्रशंसा भैरहेको छ।

करीब ७ वर्षपछि जापानी प्रधानमन्त्री सिञ्जो आबेले चीनको औपचारिक भ्रमण गरेपछि चीन–जापान सम्बन्धमा सकारात्मक भावना फैलिएको छ। यो एक्स्पोले चीनको सम्बन्ध अरू आर्थिक मुलुकसँग अझै घनिष्ठ पार्नेछ।

इटलीबाट हालै शाङ्हाइमा उत्रिएको ए.डब्लु. १८९ हेलिकोप्टर मात्रै होइन, एक्स्पोमा १ लाख ५० हजारभन्दा बढी व्यापारीहरू सहभागी हुनेछन्।

चीनद्वारा निर्मित संसारकै सबैभन्दा तीव्र गतिको पुनरूत्थान नामक बुलेट ट्रेन (बेइजिङ–शाङ्हाइ रेलवे) का डिब्बा, भित्रीढोका, टेबल, सीट, प्रसारण, स्क्रिन लगायतमा सूचनाहरू अविरल प्रवाह भैरहेका छन्। यो तीव्र गतिको रेलबाट गरिएको प्रचारले चीनको तीव्र विकासको पनि प्रतिनिधित्व गर्दछ।

चीन विश्वमा जनसंख्याका हिसावले सबैभन्दा ठूलो मुलुक हो। धेरै मुलुकको अपेक्षा चीनको बजार हो र चिनियाँ व्यवसायमा हातेमालो। चीन सारा विश्वको दोस्रो ठूलो आर्थिक समूह र दोस्रो ठूलो आयात तथा उपभोगकर्ता मुलुक हो। चीनमा प्रचुर अवसर र आदान–प्रदानको उत्तम अवसर पनि यतिखेरै हो। चीनभित्र कुनै देशका वस्तुहरूको प्रवेश हुने यो मौसमकै सबैभन्दा उच्च लहर पनि हो।

चीनसँग विश्वका विभिन्न मुलुकको व्यापार घाटा छ। त्यसैले चीनले व्यापारस्थल तय गरिदिनेछ, ताकि अन्य मुलुकका कम्पनीहरू चीनमा प्रवेश गर्न पाउनेछन्। उनीहरूले आफ्ना उत्पादनको औचित्य पुष्टी गर्नेछन् र चीनले आयात मेलाको औचित्य सिद्ध गर्नेछ। हाल चीन–अमेरिका आर्थिक रस्साकस्सी चलिरहेका बेला चीनको आयात मेलाको रणनीतिले अर्थक्षेत्रमा के अर्थ राख्नसक्छ, समयले मूल्यांकन गर्नेछ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *