‘विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु गठबन्धनको विरोधमा छन्’

 अनलाइनखबर पाटी     २४ बैशाख २०७९, शनिबार

काठमाडौं : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले विपीलाई फाँसीको सजाय हुनुपर्छ भन्नेहरु अहिले गठबन्धनको विरोधमा रहेको बताएका छन्।

काठमाडौंमा आयोजित चुनावी सभामा बोल्दै प्रधानमन्त्री देउवाले महाधिवेशन र केन्द्रीय समितिले सर्वसम्मत गठबन्धन आवश्यक रहेको भने पनि पछि विरोध भएको भन्दै आपत्ति जनाए।

‘गठबन्धन आवश्यक छ भनेर केन्द्रीय समितिले सर्वसम्मतिले पास गर्यो, महाधिवेशनले पनि यसको विरोध गरेन’, उनले भने, ‘त्यतिमात्र होइन गठबन्धनबारे निर्णय गर्ने सम्पूर्ण अधिकार मलाइ नै दिइएको थियो तर अहिले आएर हाम्रो पार्टी भित्रै विरोध भइरहेको छ।’

आफू प्रधानमन्त्री हुँदा ओलीबाट मुक्ति पाइयो भनेर धेरैले खुसी मनाएको तर अहिले आठ नौ महिना नपुग्दै नेताहरुको बोली फेरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन्। हिजो वीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को को हुन्? देउवाले भने, ‘उनीहरू अहिले गठबन्धनको खिलाफमा छन् । बडा कांग्रेसको समर्थन गर्ने भका छन् । हामीलाई था छैन ?’

उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सजिलो र लचक मान्छे भएको भन्दै देउवाले रेनुलाई आफूले भरतपुरको मेयर उठाउन भनेको बताए।

उहाँ यति सजिलो र लचक हुनुहुन्छ कि भरतपुरमा रेनुलाई हुँदैन भन्दा पनि ठिकै छ भन्नुहुन्थ्यो, खासमा उहाँको चाहना पनि थिएन’, उनले भने, ‘मैलै नै यति राम्रो काम गरेको मान्छेलाई उठाउनुपर्छ भनेको हुँ। राम्रो काम गर्नेलाई त पुरस्कार दिने हो नि हराउँछु भन्न पाइन्छ?’

उनले प्रकाशमान सिंह पनि सिर्जना सिंहलाई उठाउन डराइरहेको तर आफूले नै अघि सारेको बताए।

देउवाले मान्छे कहाँ जन्मिने भन्ने आफ्नो हातमा नहुने भन्दै रेनु दाहालको बचाउ पनि गरे।

‘प्रचण्डको छोरी भएर जन्मनु उहाँको गल्ती हो? मान्छे कहाँ जन्मिन्छ भन्ने थाहा हुन्छ?’ देउवाले भने, ‘सिर्जनालाई पनि बाउआमाले प्रकाशमानसँग बिहे गरेर दिए त विचरीले के गर्नु ? उहाँ के कुरामा कमी हुनुहुन्छ?’

उनले दुई महिलाले राम्रो ठाउँमा टिकट पाएको भन्दै उनीहरुलाई हराउँदा राष्ट्रिय अन्तर्राष्‍ट्रिय जगतले के भन्ला ? भन्दै जिताउन आग्रह गरे।

साभार थाहाखबर बाट

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट