दोलखा – दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोलमा आइतबार राति आएको पहिरोमा परी ४ महिनाकी एलिना थामीको ज्यान गएको छ। घटनामा उनकी १९ वर्षीया आमा सर्मीला थामी घाइते भएकी छन्।
वडा अध्यक्ष पदमबहादुर थामीका अनुसार घाइते सर्मीलालाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको छ।
पहिरो लगत्तै स्थानीयवासी तथा सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका थिए।
प्रहरीका अनुसार माइतीबाट घर फर्किने क्रममा पहिरोका कारण सडक अवरुद्ध भएपछि गाडीबाट ओर्लिएर पैदल हिँड्दा उनीहरू अर्को पहिरोमा परेका थिए। स्थानीयले उद्धार गरी धुलिखेल अस्पतालको दोलखा शाखामा पुर्याए पनि शिशुलाई चिकित्सकले मृत घोषणा गरेका थिए। घाइते शर्मिलालाई प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ।