पात्रो

रेडियो

खोजी
सुनको मूल्य विनिमय दर आजको शेयर बजार प्रितिबाट युनिकोड युनिकोडबाट प्रिति रेडियो पात्रो

तामाकोसी पाँचौँ आयोजनामा करेन्ट लागेर कामदार गम्भीर घाइते

न्युज डेक्स २७ साउन २०८३, बुधवार

दोलखा, साउन २७ । दोलखाको बिगु गाउँपालिका–४ भोर्लेस्थित निर्माणाधीन अपर तामाकोसी पाँचौँ जलविद्युत् आयोजनामा कार्यरत एक कामदार करेन्ट लागेर गम्भीर घाइते भएका छन्।

बुधबार बिहान करिब १०ः३० बजे मेलुङ गाउँपालिका–४ का ३५ वर्षीय गोपाल थामी हाइड्रोपावरमा प्रयोग हुने फलामका रडलगायत सामग्री टेलरमा राखेर गौरीशंकर गाउँपालिका–८ टुनिटारतर्फ लैजाने क्रममा दुर्घटनामा परेका हुन्।

टेलरमा राखिएको फलामको रड विद्युत्को तारमा छुँदा थामीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

करेन्ट लागेर घाइते भएका थामीलाई तत्काल उपचारका लागि सिंगटीस्थित रोल्वालिङ सामुदायिक अस्पताल ल्याइएको थियो। घटनाबारे बिहान ११ः३५ बजे इलाका प्रहरी कार्यालय सिंगटीमा जानकारी प्राप्त भएपछि प्रहरी टोली घटनास्थल तथा अस्पताल पुगेको थियो।

घाइते थामीको शरीरको बायाँ भाग जलेको र बोल्न नसक्ने अवस्थामा रहेको प्रहरीले जनाएको छ। उनको अवस्था गम्भीर भएपछि थप उपचारका लागि कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौं लगिएको थियो।

थामीलाई दिउँसो १ः२० बजे काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पुर्‍याई आकस्मिक कक्षमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख एवं प्रहरी नायव उपरीक्षक मनोजकुमार लामाका अनुसार फलामको रड विद्युत् तारमा छोइएपछि करेन्ट प्रवाह भई थामी घाइते भएका हुन्। “घाइतेको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ,” प्रहरी नायव उपरीक्षक लामाले बताए।

प्रहरीले निर्माण तथा ढुवानीका क्रममा विद्युत् तारको अवस्था, उचाइ र सुरक्षाका विषयमा विशेष सावधानी अपनाउन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?
0%
मन पर्‍यो
0%
मन परेन
0%
तटस्थ
0%
रिस उठ्यो
तपाईको प्रतिक्रिया

लेखकको बारेमा

न्युज डेक्स

सत्य, निष्पक्ष र ताजा समाचारमा सँधै अगाडी