सोलुखुम्बुको छेस्काममा विप्लव घटनाः प्रहरी दाबीमा कति सत्यता ?

 अनलाइनखबर पाटी     २२ जेष्ठ २०७६, बुधबार

सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- ३ मा रहेको अस्थायी प्रहरी चौकी छेस्काममा आइतबार मध्यराती के भयो?


गृह प्रशासन र प्रहरी अधिकारी घटना केही नभएको दाबी गर्छन्। उनीहरुको भनाईमा नेत्रविक्रम चन्द विप्लव समुहको सक्रियता बढेकाले थप सुरक्षा फौज परिचालन भएको हो।

छेस्काम चौकीमा रहेका ४ जना प्रहरी आईतबार मध्यराती सेल्टर छाडेर हिँडेको तथ्य छोडेर हिँडेकाहरुले नै बताएका छन्। सातजना कार्यरत रहेपनि आईतबार चौकीमा ४ जना मात्र थिए। छिमेकी गाउँबाट सूचना आएपछि उनीहरुले चौकी छाडेका थिए।

सूचना अनुसार मध्यराती एउटा हतियारधारी समुह टर्च बालेर चौकी तर्फ बढेको छ। होसियार रहनु।

प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयलाई सोमबार जानकारी गराएको घटनाक्रम अनुसार एउटा समुह चौकीमा प्रवेश गरेको हो। त्यो समुह केही घण्टापछि त्यहाँबाट हिँडेका थिए। चौकीमा केही समय बसेपछि एउटा टोली सोलुखुम्बुकै माथिल्लो भागतर्फ गएको र अर्को टोली संखुवासभातर्फ गएका थिए।

प्रहरी टोलीले दिएको सूचनापछि जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख डिएसपी शालिकराम शर्मा सोमबार बिहानै सदरमुकाम सल्लेरीबाट छेस्काम हिँडेका थिए।

यस्तै काठमाडौंबाट प्रहरी प्रधान कार्यालयले बिशेष कार्यदलको टोली हेलिकोप्टरबाट पठाएको थियो। प्रदेश १ प्रहरी कार्यालयले सशस्त्रको बाहिनीबाट १६ जना सशस्त्र प्रहरी सहतिको टोली हेलिकोप्टरबाट घटनास्थलमा उतारेको थियो।

यी सबै घटनाक्रम सोलुखुम्बु केन्द्रित भइरहँदा केन्द्रमा गृह मन्त्री रामबहादुर थापा बादलले तीनै सुरक्षा प्रमुखसँग बैठक गरिरहेका थिए।

गृह मन्त्रालयले नियमित बिफ्रिङ भनिरहेको बैठकमा सशस्त्र प्रहरी प्रमुख शैलेन्द्र खनाल केही समयमा निस्किएका थिए। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल लामो समय गृहमै बसे। यस्तै राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेश अधिकारी पनि सँगै थिए।

‘नियमित बिफ्रिङ हो, सुरक्षाकर्मीको फेरबदल र ओसारपसार नौलो बिषय होइन,’ सोमबारको बैठक लगत्तै शान्ति सुरक्षा महाशाखा प्रमुख सहसचिव रामकृष्ण सुवेदीले भनेका थिए ‘आवश्यकता अनुसार हेलिकोप्टर परिचालन भएको हो।’गृह सचिव प्रेमकुमार राई र सहसचिव सुवेदी सहितको बैठक करिब ३ घण्टा चलेको थियो। गृह मन्त्रालयमा मन्त्रीको चेम्बरभित्र भएको गोप्य बैठकका महत्वपूर्ण निर्णय बाहिरीएका छैनन्।

बैठकमा सहभागी गृहमन्त्री बादलका प्रमुख सल्लाहकार सूर्य सुवेदी ‘पथिक’ पूर्वी क्षेत्रमा गतिविधी बढेको र विप्लव समुह सक्रिय रहेको सूचनापछि थप प्रहरी टोलीलाई घटनास्थलमा पठाएको स्वीकार्छन।

‘विप्लव समुहको गतिविधी बढेको र सो क्षेत्रमा सक्रिय रहेको सूचनापछि थप टोली पठाएका हौं,’ सल्लाहकार पथिकले  भने ‘विप्लव समुहको खोजीमा सुरक्षाकर्मी गएका हुन, अरु केही भएको होइन।’

प्रहरीले चाैकी छाडेका हाेइन्न्?
अस्थायी प्रहरी चौकी छेस्काममा ७ जना कार्यरत रहेपनि आईतबार ४ जनामात्र थिए। मध्यरातमा अज्ञात समुह देखेपछि त्यहाँबाट भागेर सुरक्षित स्थानमा गएका थिए। रातभर चौकी खाली थियो। विप्लव समुहका कार्यकर्ता केही समय चाैकीमा बिताएर गए।
अज्ञात ब्यक्तिहरु चौकीमा केही घण्टा बिताएर उनीहरु हिँडेको पुष्टि प्रहरी कर्मचारीले नै गरेका हुन्। प्रहरीकै बयानपछि साेमबार बिहानदेखि साेलुखुम्बु र काठमाडाैंमा एकसाथ गृह प्रशासन सक्रिय भएकाे थियाे।
को थिए त ती अज्ञात ब्यक्तिहरु?

‘छेस्काममा होइन नुर्कममा विप्लव समुहको सक्रियता बढेको हो,’ महाकुलुङ गाउँपालिका अध्यक्ष गोपाल किराती भन्छन ‘गाउँमा हतियार सहित विप्लवका कार्यकर्ता देखिएका हुन्।’ घटनाका समय सदरमुकाम सल्लेरीमा रहेका अध्यक्ष किरातीले गाउँलेको भनाई उद्दृत्तगर्दै आक्रमण नभएको दाबी गरिरहेका छन्।

गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय, प्रदेश प्रहरी कार्यालय, सशस्त्र प्रहरीको बाहिनी र जिल्ला प्रशासन तथा प्रहरी कार्यालयमा आईतबार राती र सोमबार दिनभर छेस्कामकै बिषयमा केन्द्रित थियो। तर मंगलबार बिहानदेखि प्रहरी र प्रशासन दुबैले छेस्काममा केही नभएको दाबी गरिरहेका छन्।

‘सुरक्षा निकायले विप्लव समुह कमजोर भएको रिर्पोटिङ गरिरहेका बेला उनीहरुको समुह देखेर चौकी छाडे कसरी भन्न सक्छन्,’ एकजना पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकले भने ‘गतिविधी बढेको पूर्व सूचना अनुसार योजना किन बनेन र के हेरेर बसेको भन्ने प्रश्नको जवाफ दिन नसक्दाको परिणाम हो।’ उनका अनुसार गतिविधी बढेको र सक्रियता देखिएको भए यति हतारमा सुरक्षाकर्मीलाई हेलिकोप्टरबाटै पठाउने अवस्था आउने थिएन।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट