नेकपाका नेता झलनाथ भन्छन्– एक वर्षदेखि म नै बेरोजगार छु, कार्यकर्तामा त खिया लाग्यो होला

 अनलाइनखबर पाटी     २४ जेष्ठ २०७६, शुक्रबार

काठमाडौं २४ जेष्ठ


सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं पुर्वप्रधानमन्त्री झलनाथ खनालले दुई पार्टी एकीकरणका क्रममा कार्यकर्तामा लागेको खिया पखाल्नु पर्नेमा जोड दिएका छन्।


विभिन्न ठाउँको धार्मिक, साँस्कृतिक एवं भौतिक विकास निर्माणको अवस्थाका अनुगमन तथा अध्ययनका सिलसिलामा खोटाङ आइपुगेका खनालले शुक्रबार साँझ नेकपाको पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्ष दिनसम्म जिम्मेवारी बिहिन बनेर बस्दा आएको गलत चिन्तनलाई पखाल्नु पर्ने बताएका हुन्।

‘म नै बेरोजगार छु, वर्ष दिन यता मलाई पनि पार्टीले केही जिम्मेवारी दिएको छैन,’ पुर्वप्रधानमन्त्री खनालले भने, ‘वर्ष दिनको निस्क्रियताले कार्यकर्तामा खिया लागेको हुन सक्छ। कुनै न कुनै हिसावले गलत चिन्तनले घर गरेको हुनसक्छ, त्यसलाई हामीले धोईपखाली गर्न सक्नुपर्छ।’

पार्टी एकताका क्रममा तल्ला कमिटीलाई तत्काल बिघटन गर्दा प्राविधिक कमजोरी भएको उल्लेख गर्दै नेता खनालले वर्ष दिनसम्म नेकपाका आठ लाख सदस्य काम बिहिन बनेको बताए। उनले सिद्धान्त, क्रान्ति, पार्टी, जनता र आफैप्रति विश्वास गर्न नेकपाका नेता तथा कार्यकर्तालाई निर्देशन दिए।

नेता खनालले शनिबार नेकपाका दिक्तेल नगर कमिटीलाई शपथ खुवाउने कार्यक्रम रहेको नेकपा नेता एवं जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङले बताए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट