हात नमिलाउनुहोस्, जय नेपाल भन्नुहोस्, नत्र कोरोना सर्छ – देउवा

 अनलाइनखबर पाटी     २१ फाल्गुन २०७६, बुधबार

कैलाली । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको त्रास फैलिरहेका बेला सवैलाई सजग रहन आग्रह गरेका छन् । बुधवार कैलालीमा रहेका देउवाले कोरोना भाइरस नेपालमा पनि देखिन थालेको भन्दै कसैसँग पनि हात मिलाउन र अंकमान नगर्न आग्रह गरे ।

‘कोरोना भाइरसबाट सवै सजग रहनुहोला, हात नमलिलाउनुहोस्, जय नेपाल मात्र भन्ने गर्नुहोस’ देउवाले भने ‘जय नेपाल मात्र भन्दा कोरोना भाइरस सर्दैन ।’ धनगढीमा प्रेस युनियनले राखेको पत्रकार सम्मेलनमा देउवा जम्मा चार मिनेट सहभागी भएका थिए । काठमाडौं फर्किने हतारोमा रहेका देउवाले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गरेका देउवाले सरकार असफल भइसकेको समेत बताए । उनले पार्टीभित्रको असन्तुष्टीका बिषयमा भने धेरै बोलेनन् । समयमै महाधिबेशन हुनेमा भने आफु विस्वस्त रहेका बताए । ‘समयमै महाधिबेशन हुन्छ, यसमा कसैले भ्रम नपाल्दा हुन्छ’ देउवाले भने ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट