दोलखाको शैलुङ गाउँपालिकामा सामुदायिक बन फडानी – उपभोक्ता आक्रोशित

 अनलाइनखबर पाटी     ७ बैशाख २०७७, आईतवार

बैशाख ७ दोलखा | दोलखाको सैलुङ गाउँपालिका–८ का सामुदायिक वन फडानी भएको छन् । कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि देश अहिले लकडाउनको अवस्थामा छ । तर यही मौका छोपेर वन फडानी तथा वन्यजन्तुको चोरी शिकारका घटना बढेका खबर विभिन्न समाचार माध्याममा आइरहेका छन् ।

दोलखाको सैलुङ गाउँपालिका–८ का बासिन्दाले गाउँको सामुदायिक वन वडा र गाउँपालिकाकै जनप्रतिनिधिको मिलेमतोमा फडानी भएको आरोप लगाएका छन् ।

दोलखाको गाउपालिका सैलुङ–८ को फलाम पोखरी सामुदायिक वनका सयौ भन्दा बढी सल्लाका रुख काटिएको स्थानीय बासिन्दाले बताएका छन् । खेल मैदान निर्माण गर्ने भन्दै वनका रुख काटीएको  स्थानीय बासिन्दाले विरोध गर्दा पनि नरोकिएको उनीहरुको भनाई छ ।

जिल्ला वन कार्यालयले पनि लिखित वा मौखिक कुनै पनि रुपमा आफूहरुले रुख काट्न वा वन फडानीका लागि स्वीकृति नदिएको बताएको छ । स्कूलको खेल मैदान बिस्तारका लागि कुरा आए पनि त्यस क्रममा रुख काट्न पर्ने कुनै जानकारी नगराइएको र आफूहरुले रुख काट्ने स्वीकृति पनि नदिएको जिल्ला वन अधिकृत बच्चुराम पुडासैनीले बताएका छन् ।

‘लकडाउनका कारण म अहिले काठमाडौँमा रोकिएको छु । उता जान पाएको छैन । गाउँलेले रुख काटियो भनेर गुनासो गरेपछि  मैले स्थानीय प्रहरीलाई तत्काल काम रोक्न आग्रह गरिसकेको ’वन अधिकृत पुडासैनीले बताएका छन् ।

खेल मैदान बिस्तार पनि स्कूलको भोगाधिकार भित्रको जमिनमा गर्ने भनिएको वन कार्यांलयले जनाएको छ । तर अहिले मैदान बिस्तार गर्न भन्दै रुख काटिएको क्षेत्र स्कूलको नभइ सामुदायिक वनको रहेको स्थानीय बासिन्दाले बताएका छन् ।

गाउँपालिका अध्यक्ष भरत दुलाल तथा वडा नम्बर ८ का अध्यक्ष रामेश्वर उप्रेतीले भने रुख नकाटिएको दाबी गरेका छन् । प्रदेश सरकार सर्वाजनिक निर्माण तथा कार्यन्वयन इकाईबाट विद्यालयको खेल मैदान बिस्तारका लागि आएको १० लाख रुपैयाँ अन्तर्गत अहिले डोजर खाली रहेको मौका पारेर काम भएको र त्यस क्रममा केही साना रुख मात्रै काटिएको वडाध्यक्ष उप्रेतीले दाबी छ |

यस्तै गाउँपालिका अध्यक्ष दुलालले भने सल्लाको रुख माटो उपयुक्त नभएकाले त्यसलाई बिस्थापित गरेर अरु चौडा पात युक्त रुख लगाउने नीति रहेको र अहिले मैदान बिस्तार गर्दा केही मात्रै सल्लाका रुख काटिएको बताएका छन् |

जिल्ला वन अधिकृतले काम तत्काल रोक्नु भने पनि गाउँपालिका अध्यक्षले भने समन्वयमा काम भएको आफूहरुलाई बताएको इलाका प्रहरी कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट