मध्यरातबाट वामदेवको काँधमा कार्यवाहक अध्यक्ष, पत्नीलाई मन्त्रीको ढोका खुला !

 अनलाइनखबर पाटी     १४ श्रावण २०७७, बुधबार

काठमाडौं । नेकपाको आन्तरिक विवादलाई उलटपुलट ल्याउने गरी पार्टी उपाध्यक्ष वामदेव गौतमले गुट परिवर्तन मात्रै गरेनन् पार्टीभित्र तरंग उत्पन्न गराएका छन्।प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी चरित्रमाथि धावा बोल्दै आएका पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल गुटमा रहेका गौतमले एकाएक मंगलबार बिहान पार्टी विभाजनलाई रोक्न भन्दै ६ बुँदे प्रस्ताव ल्याएपछि पार्टीभित्र तरंग मात्र ल्याएन त्यसले समीकरण नै बदलियो।

स्थायी कमिटीको बैठकअघि नै सचिवलाय बैठकमा केपी ओलीले राजिनामा दिनुपर्छ पार्टी र सरकार दुवैको सञ्चालन ओलीबाट हुँदैन भनेर भन्ने पहिलो व्यक्ति विगत एक हप्तादेखि ओली क्याम्पमा प्रवेश गरेका छन्।

स्थायी कमिटीको बैठकमा पनि गौतमले नै ओलीको राजिनामा मागेका थिए। एक हप्ताअघि खुमलटार पुगेका गौतमले ओलीबाट काम चल्दैन भन्दै प्रधानमन्त्री वा पार्टी अध्यक्षमध्ये एक पदबाट राजिनामा दिनुपर्ने अडानलाई कायम राख्नुपर्ने भन्दै हिँडेका थिए।

तिनै गौतम अहिले भने ओलीले दुवै पद छाड्नु नपर्ने ६ बुँदे प्रस्ताव लिएर पार्टीमा प्रकट भए। ओलीको कडाशैलीमा विरोध गर्दै गौतमले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदमा बहाल हुन उनी योग्य नभएको भन्दै राजीनामा मागेपछि ओलीले फकाउन उनलाई राष्ट्रिय सभाको सदस्य, प्रतिनिधि सभामा लगेर प्रधानमन्त्री बनाउने प्रस्ताव गर्दै गए। तर यी सबै काम असफल हुने देखेपछि गौतमले दाहाल नेपाल क्याम्प छाडेका थिएनन्।

पछिल्लो पटक पूर्व एमालेको तर्फबाट गौतम नै पार्टीको कार्यवाहक अध्यक्ष भए पनि केही फरक नपर्ने सन्देश आन्तरिक रुपमा प्रवाह हुन थालेपछि भने गौतम विस्तारै दाहाल–नेपाल क्याम्पबाट बाहिरिए।

ओलीको दुवै पदबाट राजीनामा माग्ने ब्यक्ति वामदेव एक महिना नपुग्दै दुवै पदबाट हटाउन नहुने पक्षमा कसरी आए भन्ने प्रश्नको उत्तर भने ओली पक्षका नेताहरुले पनि भेउ पाउन सकेका छैनन्।

ओलीले नै अन्तर्घात गरेर बर्दियाबाट चुनाव हराएको आरोप लगाउँदै आएका गौतमले पार्टीको प्रमुख जिम्मेवारी पाउन लागेका हुन् वा होइनन् त्यो भने रहस्यकै गर्भमा छ। ओलीले गौतमलाई कार्यवाहक दिइरहँदा ईश्वर पोखरेल, सुवास नेम्वाङहरुको साथ रहन्छ कि रहँदैन भन्ने बारेमा ओली क्याम्पभित्र कुनै गृहकार्य भएको छैन।

बालुवाटारमा मंगलबार दुई पक्षले समानान्तर शक्ति प्रदर्शन गरेका बेला गौतमले ओलीलाई राहत दिने गरी ६ बुँदे सहमतिको प्रस्ताव गरेपछि ओली क्याम्पमा पनि एक प्रकारको तरंग आएको छ।

केही दिनदेखि आफू कोठे बैठकमा सहभागी नहुने भन्दै खुमलटार भेलामा नगएका गौतमले प्रचण्डलाई कार्यकारी अध्यक्षको प्रस्ताव गरेर केही जोगिन त खोजेका छन् तर प्रस्तावको ५ औ बुँदामा मन्त्री हेरफेरको प्रस्ताव गरेर श्रीमतीलाई मन्त्री बनाउने लविङ गरेको चर्चा पनि सँगसँगै छ।

बुँदा नं ५ गौतले भनेका छन्, ‘पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा मन्त्रिपरिषद पुर्नगठन तथा राजनीतिक र संवैधानिक नियुक्ति गर्ने।’ मन्त्रीपरिषद पुनर्गठन गर्ने सहमति जुटे पत्नी तुलसालाई मन्त्री बनाउने बारेमा यसअघि पनि बालुवाटारभित्र चर्चा भएको थियो।

प्रधानमन्त्रीको दावी गर्दै आएका गौतम पत्नीलाई मन्त्री बनाए चित्त बुझाउने तहमा पुगेका हुन् होइनन् त्यो भने केही दिनपछि आउने बैठकमा गौतमले दिने प्रस्तुतिबाट प्रष्ट हुने नेकपाका एक स्थायी कमिटी सदस्यले बताए।

उनका अनुसार पत्नी तुलसालाई मन्त्री बनाउने आश्वासन प्रधानमन्त्री ओली र महासचिव बिष्णु पौडेलले दिइसकेका छन्। उनीहरुको आश्वासनलाई प्रतिवद्धतामा बदल्न दुवै पक्षले विश्वासको वातावरण बनाउने सहमति भएको थियो।

विश्वासको वातावरण बनाउन गौतमले मंगलवार दिउँसो ६ बुँदे प्रस्ताव ल्याए भने ओली र पौडेल साँझ गौतम निवास पुगी डिनर बैठक गरे। डिनर बैठकमा गौतम पत्नीलाई मन्त्री बनाउने प्रतिबद्धता ओलीले जनाएको गौतम निकट स्रोतले बताए पनि गौतम भने श्रीमतीलाई मन्त्री बनाउनकै लागि मात्र ओली क्याम्पमा सरेका हुन् भन्ने विश्वास गर्न नसकिने ओली पक्षका एक नेताको भनाई छ।

गौतमको प्रस्तावसँगै नेकपाभित्रको शक्ति सन्तुलनमा फेरबदल आएको छ। दाहाल पक्षका सचिवालय सदस्य रामबहादुर थापाको पनि गौतमको जस्तै चाहना रहेको छ। सचिवालयमा ओलीको दुवै पद कायम राखेर अघि बढ्नुपर्ने पक्षमा बहुमत हुने देखिएपछि अबको जोड स्थायी कमिटी बैठकलाई भन्दा सचिवालय बैठक राखेर विवाद निरुपण गर्न चाहेको दाहाल नेपाल समूहका स्थायी कमिटी सदस्यले बताए।

‘अब उहाँहरु (ओली) स्थायी कमिटी बैठकलाई त्यति ध्यान दिन पक्षमा हुनुहुन्न किन सचिवालय बैठकमा उहाँहरुको बहुमत पुग्छ’, ती स्थायी कमिटी सदस्यले भने। उनका अनुसार यसअघिको बैठकमा सचिवालयबाट दुई अध्यक्षले सहमति गरेर प्रस्ताव लग्ने निर्णय भएको र त्यसै अनुसार अब सचिवालय बैठक बस्नुपर्ने भन्दै उनीहरुले सचिवालय बैठकलाई जोड दिन थालेका हुन्।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट