रौतहटमा गोली हानी पुजारी साहको हत्या

 अनलाइनखबर पाटी     ४ भाद्र २०७७, बिहीबार

रौतहट | रौतहटमा गोली हानी हत्या गरिएका पुजारीको शव उठाउने तयारी भइरहेको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भरत श्रेष्ठका अनुासर बुधबार राति अन्दाजी ९ बजेतिर रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहिया स्थित हनुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली हानिएको हो।

‘अहिले हामी कुकुरसहितको टोली लिएर घटनास्थलमा छौं,’ डीएसपी श्रेष्ठले बिहीबार बिहान साढे १० बजेतिर नेपालखबरसँग भने, ‘तर अहिलेसम्म गोली हान्नेको पहिचान हुन सकेको छैन।’ उनका अनुसार पुजारी मन्दिर परिसरमा बसेर खान लागेको बेला कसैले गोली हानेको हो।

‘गोली हान्ने समूह थियो वा एक्लो व्यक्ति,’ डीएसपी श्रेष्ठले भने, ‘अहिलेसम्म केही पत्ता लागेको छैन, हामी अनुसन्धान गरिरहेका छौं।’ उनका अनुसार मोटरसाइकल वा कुनै गाडीको आवाज नआएकाले हत्यारा पैदलै आएको अनुमान गरिएको छ।

स्थानीयले पुजारीको हत्या गरिएको खबर दिएपछि प्रहरीले रातिदेखि नै घटनास्थलमा सुरक्षा दिएर बसेको उनले जानकारी दिए।

तपाईको प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै
पत्रपत्रिकाबाट